६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

कृषि मन्त्रीलाई सांसदको प्रश्नः स्याउको विरुवा वितरणमा पक्षपात किन ?

१२ असार, काठमाडौं । सांसद प्रेम सुवालले विदेशबाट ल्याएको स्याउको विरुवा वितरणमा पक्षपात भएको आरोप लगाएका छन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसाललाई उनले विदेशबाट ल्याइएका स्याउको बोट वितरणमा भएको पक्षपात नरोकिएको भन्दै संसदमा ध्यानाकर्षण गराएका हुन् ।

उनले भने ‘ विदेशबाट ल्याइएको स्याउको बोट वितरणमा पक्षपात किन रोकिएन ? सत्ता पक्षको किसानलाई मात्र मल बिउ अनुदान, सहुलियत व्याजको ऋण दिनु पक्षपात हैन र ? कृषि उत्पादनका विचौलीयाहरु मन्त्रालयकै संरक्षणमा रहेका होईनन र ?’ त्यस्तै अर्का सांसद रामकृष्ण यादवले कृषकलाई समयमै मल तथा बिउ उपलब्ध गराउने आफ्नो दायित्वबाट सरकार विमूख भएको टिप्पणी गरे ।

‘मल विउ समयमा उपलब्ध गराउने कुरा नीतिगत रुपमा सुन्दर र राम्रो ढंगल प्रस्तुत हुन्छ । व्यवहारमा संधै किसानले अभाव झनझट व्यहोर्नु परेको छ ।’ उनले भने ‘जसले गर्दा कृषि उत्पादनमा ह्रास आएको छ । धान चामल आयात गर्नुपर्ने अवस्था छ । आत्मा निर्भर बनाउनको लागि सरकारको योजना के छ ? तराई मधेशमा पानीको हाहाकार छ के छ यसमा सरकारको तयारी?’

त्यस्तै सांसद हरी ढकालले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको वेथिति रोक्न सरकारले प्रभावकारी भूमिका नखेलेको आरोप लगाए ।
‘नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बारेमा हामी जानकार छौं । त्यो वेथिति रोक्नुको सट्टा त्यहाँ ४० औं वरियतामा रहेका कर्मचारीलाई कार्यकारी प्रमुख बनाईएको रहेछ । यसबारे स्पष्टिकरण चाहन्छु । कृषि मन्त्रालयले हस्तक्षेप गरेर ४० औं वरियता क्रमको कर्मचारीलार्य कार्यकारी निर्देशक बनाएको छ ।’ त्यस्तै उनले किसानले बजार नपाएको भन्दै आक्रोश पोखे । ‘किसानको बजार कहाँ हो ?’ उनको प्रश्न छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १६:०२