नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँडः गृहमन्त्रीले बल तान्दा कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा
११ असार, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ ठमेलस्थित होटेल अलोफ्टमा बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएकाे छ ।
आईपीओ बाँडफाँड कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए। उनले नै गोलाप्रथा गर्ने बल तानेका थिए । यसरी कुनै पनि कम्पनीको आईपीओ बाँडफाँडमा गृहमन्त्री नै सहभागिता हुनु र उनैले बल तान्नु यो पहिलो पटक हो।
कम्पनीकाे आईपीओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक मात्र सेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ।
कम्पनीकाे आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गाेलाप्रथाबाट बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ६१ हजार ९ सय ८९ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्।
आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा बिक्री प्रबन्धको वेबसाइट https://megacapitalmarkets.com/, मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/loginर सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 11:25









