२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

असार १९ गतेदेखि आईपीओ निष्कासन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

११ असार, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो सेयरका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं.४ र कालिञ्चोक गाउँपालिका वडा नं। ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २ गते हुनेछ भने ढिलोमा साउन १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २ गतेभित्र आवेदन दिनु पर्नेछ।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 10:15