२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन भदौमा

१० असार, काठमाडाैँ । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीको बैठक प्रदेश अधिवेशन आगामी भदौ २२ र २३ गते गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार धनगढीमा बसेको प्रदेश कमिटीको पूर्ण बैठकले भदौ २२ र २३ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

मङ्सिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा र टोल अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव पाठकले बताए । बैठकमा प्रस्तुत भएको वार्षिक कार्ययोजना अनुसार सदस्यता नवीकरणलाई अन्तिम रूप दिने तथा प्रचारप्रसारको कामलाई तिब्रता दिँदै पार्टीको वैचारिक स्कुल चलाउने निर्णय समेत गरिएको छ । बैठकले २०८० लाई अधिवेशन वर्षका रूपमा मनाउने निर्णय समेत गरेको छ ।

शुक्रबारको बैठकबाट केन्द्रीय कमिटीका सचिव छबिलाल विश्वकर्माले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ । केन्द्रीय कमिटीको बैठकबाट भएको निर्णय अनुसार यस अघि सुदूरपचिम प्रदेशको इन्चार्ज रहनुभएका कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारीमा रहनुभएका केन्द्रीय सचिव लेखराज भट्टलाई धन्यवाद दिँदै बैठकले कर्णाली प्रदेश इन्चार्जको रूपमा सफल कार्यकालका शुभकामना दिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको बैठकमा सुदूरपश्चिम प्रदेशका निवर्तमान इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज स्थायी कमिटी सदस्य कर्ण थापा लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : June 25, 2023 at 12:18 pm