घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने १२ लगानीकर्ताको विवरण अख्तियारमा
६ असार, काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्रीको साधारण सेयर (आईपीओ) मा ‘फर्जी’ आवेदन दिने लगानीकर्ताको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकाे छ ।
कम्पनीकाे आईपीओमा साेझा साझा सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने गरी खातामा बिना पैसा ठूलो परिमाणमा फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकाे हाे । कम्पनीले जेठ २१ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेकाे आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन दिएको खुलासा भएपछि अख्तियारले कागजात मगाएको स्रोतले जनाएको छ ।
बैंक खातामा रकम नै नभईकन ठूलो मात्रामा आईपीओ भरेको फेला परेपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । कम्पनीकाे आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिनेमा भक्तपुरका प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य र श्रीजा पोखरेल रहेका छन् ।
त्यस्तै, गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री, पर्वतकी रञ्जना ढकाल पौडेल, चितवनका मनोज पाठक, सुनसरीका मिथिलेशकुमार मेहता र दोलखाका नवीन खत्री रहेका छन् ।
साथै, १० लाख कित्ताका दरले फर्जी आवेदन दिने अन्यमा काठमाडाैकी सुमित्रा बम, ललितपुरका अनिल राना रहेका छन् । यी १२ जनाकाे विवरण अख्तियार गएकाे हाे ।
प्रकाशित मिति : 14:01









