२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सुनिताको पीडामा राज्य संयन्त्रको हैरानीः भागेको श्रीमान कसले खोजी दिन्छ ?


५ असार, जनकपुर । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो।

उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन् ।

तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन। सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ ।

‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु। श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ।’

सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेकी छन् । ‘श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु। उहाँसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गछु’, उनले भनिन् ‘मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ।

विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन।’

अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन्। ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकें कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने? भन्दै घर फर्किनुहुन्छ’

सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाए। ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन,’ उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ।’ सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन्।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १०:३०