धितोपत्र बोर्डले गर्यो घोराही सिमेन्टको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगित
४ असार, काठमाडाैं । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले घोराही सिमेन्टको आईपीओ निष्कासन स्थगित गरेकाे छ । धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै घोराही सिमेन्टको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको हो। सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई आईपीओमा फर्जी आवेदन परेको देखिएकाे भन्दै जानकारी गराएको थियो ।
‘निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए/नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ ’ सूचनामा भनिएको छ।
घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियाे ।
प्रकाशित मिति : 16:08









