१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

किन थपियो घोराही सिमेन्टको आईपीओ भर्ने म्याद ? सिडिएसले दियाे यस्ताे चेतावनी

४ असार, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्रीले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आज आवेदन दिने अन्तिम दिन भए पनि म्याद थप गरिएको सूचना प्रकाशित गरेको छ । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।  यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो।

कम्पनीले सूचना प्रकाशित गर्दै यथोचित संख्यामा आवेदन प्राप्त भए पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपिएको जनाएकाे छ । अब कम्पनीकाे आईपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिने र यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगाडी नै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले जनाएकाे छ ।

सीडीएससीका अनुसार आइतबार साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.४९ गुणाले बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन पर्दा पनि म्याद थप्नुलाई अहिले शंकास्पद दृष्टिकोणले हेरिएकाे छ ।

घोराही सिमेन्टको आइपीओमा आवेदन गर्दा बैंक खातामा रकम नै नभईकन ठूलो परिमाणमा सेयर आवेदन दिएकाे सार्वजनिक भएसँगै सीडीएससीले पनि एक सूचना जारी गर्दै आइपीओ निष्काशनलाई प्रभावित गर्ने गरी खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई आइपीओ आवेदनको संख्या र परिमाणलाई समेत प्रभावित पार्ने कार्य गरेमा धितोपत्र कारोबार ऐन, २०६३ अनुसार झुटा एवम् जालसाजी युक्त कारोबार हुने बताउँदै यस्ताे कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने जनाएकाे छ ।

सिडिएसले सार्वजनिक गरेको सूचनामा भनिएकाे छ, ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’

प्रकाशित मिति : 14:28