चीन र भारतको डिजिटल मुद्रा कारोबारको प्रभावबाट नेपाल टाढा रहन सक्दैन
-सुरेन्द्र पाण्डे
भारत र चीन जस्ता दुई ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालले दुवै देशमा विकसित भइरहेको डिजिटल मुद्रा कारोबारको प्रभावबाट टाढा रहन सक्दैन । अहिले बजारमा डिजिटल मुद्रा सम्बन्धमा विभिन्न चर्चा, परिचर्चा भइरहेको छ । त्यसमध्ये चर्चित रूपमा बाहिर आइरहेको नाम हो, केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) । नयाँ पुस्ताका मानिसलाई यस सम्बन्धमा जानकारी भए तापनि पुराना पुस्ताकालाई यसबारेमा अन्योल हुन सक्दछ । तर ढिलो वा चाँडो संसारभरि नै डिजिटल मुद्राको प्रचलन बढ्दै जाने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको हुनाले अर्थशास्त्री, वित्तीय र प्रविधि क्षेत्रमा कार्यरत संस्था तथा व्यक्ति, नीतिनिर्माताहरू मात्र होइन सबै नागरिकहरूले यस बारेमा जानकारी लिनु नितान्त आवश्यक छ ।
सन् २००७/०८ को विश्वव्यापी आर्थिक मन्दीको कारणले केही अमेरिकी बैंकहरू टाट पल्टिए । त्यसको परिणाम स्वरूप अमेरिकी डलरको भाउमा गिरावट आयो । त्यसले केन्द्रीय मौद्रिक अधिकारी माथिको विश्वासलाई कमजोर बनायो । त्यही परिप्रेक्ष्यमा सन् २००९ मा साताकी नाकामोतो नामक व्यक्तिले बिटक्वाइन सफ्टवेयरको विकास गरेसँगै डिजिटल मुद्राको कारोबार सुरु भयो । त्यसयता विभिन्न नामका क्रिप्टो मुद्राहरू प्रचलनमा आए ।
यस्तो मुद्रालाई विश्वका धेरै सरकारले स्वीकार नगरे पनि कतिपयले स्वीकारे । नेपाल राष्ट्र बैंकले क्रिप्टोलाई प्रतिबन्ध लगाएको छ । नेपालमा क्रिप्टो मुद्रा प्रतिबन्धित भए तापनि यहाँ ठूलो मात्रामा त्यसको कारोबार भइरहेको चर्चा छ । यसबाट नेपाली पूँजी अवैध रूपले पलायन भइरहेको कुरा त्यसको अध्येता र व्यवसायी स्वयंले बताइरहेका छन् । सरकार वा विभिन्न देशका केन्द्रीय बैंकहरूले स्वीकार गरून् या नगरून्, विश्वमा त्यसको प्रभाव बढ्दै गयो । कुनै केन्द्रीय नियमन नभएको र वितरित खाता (डिष्ट्रीब्युटेड लेजर)मा आधारित क्रिप्टो करेन्सीको प्रभाव बढ्दै गएपछि केन्द्रीय बैंकहरू दबाबमा पर्न थाले ।
त्यसपछि केन्द्रीय बैंकहरू स्वयं डिजिटल मुद्रा सम्बन्धमा अनुसन्धान र निष्कासन गर्न सहमत र बाध्य हुँदै आए । केन्द्रीय बैंक डिजिटल करेन्सीहरू क्रिप्टो करेन्सीभन्दा फरक हुन् । केन्द्रीय बैंक डिजिटल मुद्रा विभिन्न प्रकारका छन् । विभिन्न देशमा भिन्न–भिन्न दृष्टिकोणका साथ त्यसको प्रयोग र परीक्षण भइरहेको छ । कुनै खाता आधारित अर्थात् डिक्यास मोडलमा छन् । यस्तो अभ्यास पूर्वी–क्यारेबियन मुलुकहरूमा सुरु भएको छ । ती देशहरूमा उपभोक्ताहरूले प्रत्यक्ष रूपमा केन्द्रीय बैंकमा निक्षेप खाता खोल्ने गर्छन् ।
तर चीनले त्यसको विपरीत निजी क्षेत्रका बैंक मार्फत डिजिटल मुद्रा खाता खोली कारोबार सुरु गरेको छ । युरोपियन बैंकहरूले अनुमति प्राप्त ‘ब्लक चेन’को च्यानल प्रयोग गरी कारोबार गर्नेबारे अध्ययन सुरु गरेका छन् । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सन् २०१३ देखि नै केन्द्रीय बैंक डिजिटल मुद्राको अनुसन्धान सुरु गरेको बताइन्छ । अहिले विश्वभरका केन्द्रीय बैंक समेत ११४ भन्दा बढी संस्था केन्द्रीय बैंक डिजिटल मुद्राको अनुसन्धान र प्रयोगात्मक परीक्षण कार्यमा संलग्न र सक्रिय छन् । त्यसमा नेपाल पनि रहेको छ ।
अफ्रिकाको सानो टापु राष्ट्र बहामाजले सन् २०२० मा स्याण्ड डलर नामको केन्द्रीय बैंक डिजिटल मुद्रा जारी गरेको थियो । नाइजेरियाले २५ अक्टोबर २०२१ देखि इ-नाइराको प्रयोग सुरु गरेको छ । अमेरिकाले पाइलट प्रोजेक्टको रूपमा अमेरिकी र विश्वका अरू देशका बैंकहरूबीच थोक कारोबार सुरु गरेको छ । जून २०२२ मा जमैकाको केन्द्रीय बैंक, बैंक अफ जमैकाले केन्द्रीय बैंक डिजिटल मुद्रा सम्बन्धी कानुन बनाएको छ ।
भारतले सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा डिजिटल रुपीको पाइलट प्रयोग थोक र खुद्रा कारोबार दुवै क्षेत्रको अध्ययन सुरु गरेको छ र १ डिसेम्बर २०२२ देखि नयाँदिल्ली, मुम्बई, बैंगलुरु र भुवनेश्वरमा त्यसको परीक्षण प्रयोग सुरु गरेको छ । त्यसमा भारतका ८ वटा निजी क्षेत्रका बैंकहरू सक्रिय रहेका छन् । सव-सहारान अफ्रिकी मुलुकहरूले एम–पेसा नामक घुम्ती मुद्रा हस्तान्तरण सेवा सुरु गरेका छन् र निकट भविष्यमा केन्द्रीय बैंक डिजिटल मुद्रा प्रयोग गर्न खोज्दैछ ।
साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको केन्द्रीय बैंक मिलेर ‘एबेर’ नामक संयुक्त परियोजना सुरु गरी डिजिटल मुद्रा जारी गर्ने र दुई देशका आन्तरिक र अन्तरदेशीय भुक्तानी उपकरणको रूपमा प्रयोग गर्न सहमति गरेका छन् ।
पछिल्ला समयमा चिनियाँ केन्द्रीय बैंकले स्थानीय समुदायबीच विभिन्न पाइलट परियोजना संचालन गरेको छ । जनतालाई त्यसको प्रयोग बढाई वस्तु तथा सेवा खरिद गर्न प्रोत्साहित गरिरहेको छ । सन् २०२२ को अगष्ट सम्ममा ‘ई–सियनवाई’ अर्थात् इ–युआनको कारोबार १३.९ अर्ब अमेरिकी डलर नाघिसकेको छ ।
केन्द्रीय बैंक डिजिटल मुद्रा विच्याट पे, एप्पल पे, अलि पे भन्दा भिन्न छ । किनकि स्मार्ट फोनको माध्यमबाट जब कुनै वस्तु वा सेवा खरिद गरिन्छ ती एपहरू मार्फत एउटा खाताबाट अर्को खातामा रकम भुक्तानी गर्ने वा सर्ने गर्दछ । तर, केन्द्रीय बैंक डिजिटल मुद्रा वास्तविक मुद्रा भएकाले तिनीहरू सिक्का वा नोटको रूपमा मूल्य र छुट्टै पहिचानसहित व्यक्तिको फोनमा सुरक्षित रूपले भण्डारण हुन्छ । यो डिजिटल मुद्राको विकासमा नयाँ सीमा हो ।
नयाँ वैज्ञानिक प्रयोग सँगसँगै आजको संसार छिटो गतिले अगाडि बढिरहेको छ । त्यति मात्र होइन सरकारहरू दक्ष, पारदर्शी, जनउत्तरदायी बन्नुपर्ने दबाब पनि दिनानुदिन बढ्दै गएको छ । डिजिटल मुद्रा यसको परिणति त भन्न नमिल्ला । तर आजको सन्दर्भमा यो मुद्राले समाजलाई तुलनात्मक रूपले बढी प्रभावकारी ढंगले अघि बढाउन मद्दत मिल्दछ ।
डिजिटल मुद्राको कारोबारले दक्षता अभिवृद्धि, समयको बचत, लागत कटौती, तत्काल क्रेता र बिक्रेताबीच पहुँच र कारोबारकै समयमा तत्क्षण सम्पन्न हुने गर्दछ । यसको माध्यमबाट बैंकिङ पहुँच नपुगेका जनसंख्यामा पहुँच सहज हुन्छ ।भारत र चीन जस्ता दुई ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालले दुवै देशमा विकसित भइरहेको डिजिटल मुद्रा कारोबारको प्रभावबाट टाढा रहन सक्दैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सिलसिलामा नेपाल–भारतबीच डिजिटल पेमेन्ट प्रणाली सुरु गर्ने सहमतिका कारणले पनि नेपालले केन्द्रीय बैंक डिजिटल मुद्राको विकास र डिजिटल पेमेन्टबारे स्पष्ट गर्न र तयारी कार्य अगाडि बढाउन जरुरी भएको छ ।
डिजिटल मुद्राको प्रयोगको विस्तार सँगसँगै सेवालाई गरीब र ज्येष्ठ नागरिकसम्म कसरी पहुँच पुर्याउने भन्ने विषयमा पनि अन्तर्राष्ट्रिय समुदायको ध्यान गएको छ । किनकि त्यसका लागि अनिवार्य रूपमा स्मार्ट फोन र इन्टरनेटको पहुँच आवश्यक पर्दछ । यस समस्याको समाधानमा चिनियाँ केन्द्रीय बैंकले अफलाइनमा पनि सेवाको पहुँच हुने नयाँ प्रविधिको विकास गरेको छ । इन्टरनेट विना नै केही सेकेण्डमा भरपर्दो ढंगले भुक्तानी दिने र भुक्तानीको ग्यारेन्टी गरेको छ ।
प्रत्येक सुनौलो कुराको राम्रा र नराम्रा पक्ष हुन्छन् र यो डिजिटल मुद्राको पनि हुन्छ भनेझैं हामीहरू सधैं नयाँ प्रविधिको खतराप्रति पनि चनाखो हुनैपर्छ । केन्द्रीय बैंक डिजिटल मुद्रा पनि त्यसको अपवाद हुन सक्दैन । विश्वव्यापी रूपमा मात्र होइन नेपालका समेत धेरै जनताले डिजिटल भुक्तानीलाई रोजिसकेका छन् । केन्द्रीय बैंक डिजिटल मुद्राको प्रयोगसँगै नयाँ अवस्थामा फड्को मार्नेछ । हाम्रा फोनहरू हाम्रा बैंक बन्नेछन्, जसभित्र डिजिटल सिक्का वा नोटहरू भण्डारण हुनेछन् ।
प्रकाशित मिति : २ असार २०८०, शनिबार १९:४६