६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

जनजातिको तथ्यांकमा देखिएका त्रुटि सच्याउन सरकार तयार छः प्रधानमन्त्री प्रचण्ड

१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, तथ्यांक कार्यालयले जनजातिलाई फुटाउने काम गरेको भन्दै तथ्यांकमा भएको कमजोरी सच्याउन सरकार तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल मगर संघ केन्द्रीय समिति भूमे/भुम्या पर्व –२०८० लाई सम्बोधन गर्दै उनले तथ्याङ्कमा देखिएका त्रुटि सच्याउन सरकार तयार रहेको बताएका हुन् ।

पछाडि परेका जातजाति, वर्ग समुदायको संघर्ष र बलिदानीबाटै नेपालमा लोकतन्त्र प्राप्तिसम्मका आन्दोलन सफल भएको भन्दै उनले सरकारबाट भएको कमजोरीलाई सुधार्ने प्रतिबद्धता गरेका छन् । ‘देशलाई, जनजातिलाई वा कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन, यसमा सरकारको कुनै नियत पनि छैन, हामी प्रस्ट छौं ।

मगर समुदायलगायत अरु पनि आदिवासी जनजातिलाई तथ्यांक कार्यालयबाट जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा फुटाउने काम भयो भनेर राख्नुभएको छ । दुई/तीन दिन अगाडि आदिवासी जनजाति महासंघले पनि त्यसबारे ध्यानाकर्षण गराउनुभएको थियो । मैले त्यसबारे पहिलो पटक थाहा पाएको हो । यसलाई सच्याउँन लगाएको छु । देशलाई, जनजातिलाई वा कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन, यसमा सरकारको कुनै नियत पनि छैन, हामी प्रस्ट छौं ।’ उनले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय मातहतमै रहेको भए पनि आफूलाई जनजातिका जातजातिहरूलाई अलग गरेर तथ्यांक संकलन भएकोबारे कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १७:४५