६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

उपप्रधानमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूत भोल्कबीच भेटवार्ता

३२ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्‍टाचार भेटवार्ता भएको छ ।

बिहीवार गृह मन्त्रालयमा उक्त भेटवार्ता भएको हो । भेटवार्तामा दुईपक्षीय हितबारे महत्त्वपूर्ण छलफल भएको छ । गृहमन्त्री श्रेष्ठले सधै सौहाद्र्धपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए ।

राजनीतिक परिवर्तनपछि आफुहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलिया जस्तो देशबाट साथ–समन्वयको अपेक्षा गरेको उनले बताए ।

त्यस्तै राजदूत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफुहरूलाई खुशी लागेको र भर्खरै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयसँग पनि साझेदारी बढाउने तर्फ सहकार्य भैरहेको बताए ।

व्यापारमा समेत साझेदारी गर्न अस्ट्रेलिया इच्छुक रहेको र दुईदेशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भैरहेको उनले बताए । त्यसका लागि यही अक्टोबर महिनामा अष्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउने जानकारी उनले जनकारी दिए ।

साथै राजदूत भोल्कले भने नेपाली विद्यार्थीलाई छात्रवृत्तिका कोटाहरू बढाइएको र कर्मचारी कोटा समेत तय गरिएको पनि बताए । राजदूत भोल्कले दिवंगत भएका पर्वतारोहीको शव फिर्ता र मृत्युको प्रमाणपत्र उपलब्ध गराउने विषयमा नेपाली कानून र निर्देशिकासँग संगत हुनेगरी सहयोगको अपेक्षा गरे ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १८:५२