१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

अवैध सट्टेवाजीलाई प्रोत्साहन गरेको आरोपमा ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित ८ पक्राउ


३२ जेठ, काठमाडौं । अवैध सट्टेवाजीलाई प्रोत्साहन गर्ने गरी विज्ञापन गरेको अभियोगमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ भनिने राजु पौडेलसहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।

उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । पक्राउ परेका उनीहरूमाथि अहिले सोधपुछ चलिरहेको र थप अनुशन्धान भईरहेको बताईएको छ।

बुधबार मात्र कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्कालाई विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको आरोपमा पक्राउ गरिएको थियो । उनले ६३ वटा खाता खोलेर ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १३:३१