२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

अमेरिकामा मानवतस्करी गर्न खोजेको संस्थाको कार्यक्रममा एसएसपी कार्की अतिथि


-प्रतिमा मुडभरी

१ असार, काठमाडौँ । सांसदको रातो पासपोर्ट देखाएर अन्तरक्रिया कार्यक्रमका नाममा अमेरिकामा मानवस्तकरीको प्रयास गरेको ओएस नेपालको नाममा हुन लागेको म्युजिक अवार्डमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की सहभागी भएका छन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवतस्करी गर्ने नाममा भएको ठगीको अनुसन्धान गरेर चर्चामा रहेका काठमाडौँ प्रहरी प्रमुख कार्की उस्तै प्रकृतिको अर्को घटनाको मुख्य योजनाकार देखिएको संस्थाको कार्यक्रममा अतिथि बनेर सहभागी भएपछि प्रश्न उठेको हो ।

यो पनि पढ्नुहोस्

रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !

नेकपाकै सांसदकाे मिलेमताेमा यसरी हुँदैथियाे मानव तस्करी (भाग–२)

मानवतस्करीमा नेकपा सांसदको संलग्नताबारे छानविन हुँदै, शाहको संयोजकत्वमा समिति गठन

दूतावासलाई झुक्याएर मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्न सांसदद्धय थापा र नेपालीको माग

मिडियाको नाममा मानवतस्करीको धन्दा, ओएस नेपालका कार्की र डाँगीविरूद्ध मुद्दा चलाउने तयारी

२०७५ सालमा तत्कालीन सांसदद्धय अमरबहादुर थापा र सीता नेपालीको रातो पासपोर्ट देखाएर अन्तरक्रियाको नाममा अमेरिकामा मानवतस्करीको प्रयास गरेको ओएस नेपालले चौँथो ओएस नेपाल म्यूजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख कार्की सहभागी भएका हुन । यही जेठ २८ गते (जुन ११) मा काठमाडौँमा भएको कार्यक्रममा कार्की सहभागी भएका हुन ।

अवार्डको मनोनयनमा परेकाहरूलाई प्रमाणपत्र दिँदै काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की !

सोही कार्यक्रममा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । अमेरिकाको एक रेष्टुरेन्टमा ‘राष्ट्रिय विकासमा महिलाको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रम देखाएर सांसदहरूसँगै अन्य १३ जनालाई अमेरिका लैजाने प्रयास भएको थियो । जसको अनुसन्धान कुनै निष्कर्षमा समेत नपुगेको अवस्थामा प्रहरी प्रमुख सोही संस्थाको कार्यक्रममा अतिथिको रूपमा सहभागी हुनु गलत हो ।

नेपाल प्रहरीले ओएस नेपालले जस्तै गरी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामै मानवतस्करी गर्ने नाममा गरेको ठगीको अनुसन्धान गरेर हाल उक्त मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधिन अवस्थामा रहेको छ । तर त्यतिखेर नेकपाकै सत्ता र नेकपा सांसदको समेत संलग्नता हुन लागेको मानवस्तकरीको घटना सामसमु परिएको थियो ।

ओएस नेपाल म्युजिक अवार्डका संयोजक कार्की सोही संस्थाको म्यानेजिङ डाइरेक्टर समेत हुन । एक महिना अघि उनले दिएको शुभकामना सन्देश ।

काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयका तत्कालीन प्रमुख धिरजप्रताप सिंह जो पछि नेपाल प्रहरीको प्रमुख समेत हुनुभयो । उहाँले नै दैनिकीसँगको कुराकानीमा मानवतस्करी हुन खोजेको विषय जानकारी आएको भन्दै सोमा संलग्नको खोजी गरिरहेको र कारबाही हुने बताएका थिए । तर पछि सांसदहरूले आफूहरू नै झण्डै ठगीएको भन्ने कुरा गरेपछि प्रहरीले अनुसन्धान नै नगरी छाडेको थियो ।

प्रहरीका वरिष्ठ अधिकृत र मन्त्रीहरूसँग निकट सम्बन्ध रहेको जस्तो देखाएर ठगी गर्ने गिरोहरूले कार्यक्रम पनि सोही अनुसारको बनाउने गरेका छन । उनीहरूले आफ्नो कार्यक्रममा मन्त्री र प्रहरीका हाकिम बोलाएर निकटता रहेको देखाउने गरेका छन । ओएस नेपालको चौँथो अवार्डका नाममा हुन लागेको कार्यक्रम पनि त्यस्तै कडी नबनोस हाम्रो शुभकामना छ । स्थानीय आयोजक बताउने विवेक कार्की भने ओएस नेपाल म्यानेजिङ डाइरेक्टर समेत हुन । विवादित संस्थाको कार्यक्रममा सहभागिता जनाएको बारेमा काठमाडाैँ प्रहरी प्रमुख दानबहादुर कार्कीसँग चासो राख्दा उनले कसैले गल्ती गरेको भए कारबाही हुने बताए ।

के भएको थियो ? 

ओएस नेपालले मिडियाको नाममा मानवतस्करी गरिरहेको रहस्य कान्तिपुर दैनिक र दैनिकी डटकमले सार्वजनिक गरेको थियो । त्यसपछि तत्कालीन महानगरीय अपराध महाशाखा (हालको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय)ले अमेरिका जाने लोभमा ठगिएका नेपालीहरूको सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । विभिन्न कार्यक्रमको बहानामा नेपालीलाइ अमेरिका प्रवेश गराइ ओएस नेपालले मानवतस्करी गरिरहेको विषय प्रहरीको नोटिसमा पुगेको थियो ।

दैनिकीको समाचारपछि सांसदद्धय थापा र नेपालीले जारी गरेको संयुक्त विज्ञप्ति ।

ओएस नेपालको उक्त तस्करीको विषय अमेरिकी दूतावासले समेत नोटिसमा लिइसेको महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी धिरजप्रताप सिंहले दैनिकीलाई जानकारी दिएका थिए । सांसदहरूको सहभागिता देखाएर त्यही बहानामा अरू मानिससँग लाखाैँ असुलगरी मानवतस्करी गर्न खोजेको उसको पछिल्लो प्रयास भने अमेरिकी दूतावासले असफल बनाइदिएको थियो ।

ओएस नेपालले कार्यक्रममा सहभागिताको लागि भन्दै १५ जनाको नाममा पठाएको पत्र ।

एसएसपी सिंहले त्यतिखेर प्रहरी अहिले अनुसन्धानकै क्रममा रहेको छ यद्यपी ओएस नेपाल नामक संस्थाका प्रमुख केशबहादुर कार्की र नेपालमा बसेर मानवतस्करीको गिरोह सञ्चालन गर्ने उसको एजेण्ड भरत डाँगीका विरूद्धमा मुद्दा चलाउने तयारी भैरहेको बताएका थिए । कार्की अमेरिकामै थिए र छन भने उनका एजेण्ड डाँगी लाखौँ रूपैयाँ उठाएर भूमिगत भएका थिए । ओएस नेपालले त्यसअघि पनि कन्सर्ट, अवार्ड र विभन्न नाममा नेपालीलाई अमेरिका प्रवेश गराउने र १० देखि ३० लाखसम्म उठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको कुरा प्रहरीले नै अनौपचारिक संवादमा बताएको थियो ।

अमेरिका जाने आसमा लाखौं रुपैयाँ डुबाएका दर्जन पीडितले अमेरिका जाने भिसा नपाएपछि ओएस नेपालको मानवतस्करीको धन्दाको बारेमा तथ्यहरू बाहिर सार्वजनिक गरेका थिए । पीडितहरूले भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसदद्धय अमरबहादुर थापाले आफ्नी श्रीमतिलाई र सीता नेपाली आफैँले अन्तिमसम्म अमेरिका जान लागिपरेको र उनीहरूकै विश्वासमा पर्दा आफ्नो रकम डुबेको गुनासो गरेका थिए । भिसाका लागि अन्तर्वार्ता दिन फागुन २९ गते अमेरिकी दूतावास पुगेका दाङ, तुलसीपुरका हिमाल बस्नेतले सांसद थापालाई दूतावासअगाडि भेटेको बताएका थिए ।

ओएस नेपालका प्रमुख केशबहादुर कार्की ।

अमेरिका जाने आसमा १२ लाख रुपैयाँ डुबेको उनले बताए । ‘नेताहरूसँगै जाने हो भनेपछि पत्याइयो,’ उनले भने, ‘अन्तिममा धोका पाइयो ।’ सांसदद्वयले अन्तिम समयसम्म अमेरिका जान सकिने बताएको पीडितहरूले आरोप लगाएका थिए । दैनिकीको सम्पर्कमा अाएका आएका अर्का पीडितले भने, ‘भिसाको निम्ति दूतावासले लिने अन्तर्वार्ताको दिन पुगेका दस जनासँग सांसद थापा आफैंले भेटेर कुरा गरेका थिए ।’

अमेरिकाको ओएस नेपाल नामक संस्थाका प्रमुख केशबहादुर कार्कीले फेब्रुअरी २४ मा काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेर सांसद सीता नेपालीलाई नन इमिग्रेन्ट बी वान बी टु भिसा दिन अनुरोध गरेका थिए । कार्कीले कार्यक्रममा सांसद सीता नेपाली, अम्बरबहादुर थापासहित १५ जना सहभागी हुने भन्दै दूतावासलाई अर्को पत्र पनि पठाएका थिए । अमेरिकाबाटै सञ्चालित ओएस नेपाल डट कम नामक अनलाइन पोर्टलको अध्यक्ष केशबहादुरले सांसदसँगै अन्य १३ जनालाई अमेरिका पुर्‍याउने काममा रोल्पाका भरत डाँगीको सहयोग लिएका थिए ।

नेकपाकी सांसद सीता नेपालीका नाममा पठाएको विशेष निमन्त्रणापत्र ।

अमेरिकाको क्यालिफोर्नियामा हुने ‘राष्ट्र निर्माणमा महिलाको भूमिका : अनुभव आदानप्रदान’ नामक कार्यक्रममा सहभागी हुने भन्दै रुकुम र दाङलगायत जिल्लाका दर्जन पीडितले भरत र उनले भनेका मान्छेलाई रकम बुझाएका थिए । सबैजसो पीडितले प्रतिव्यक्ति १० लाखभन्दा धेरै रकम बुझाएको बताएका छन् । मानव तस्कर गिरोहले दुवै सांसदलाई अघि सारेर अमेरिका लैजाने नाममा डेढ करोडभन्दा धेरै रकम उठाएको पाइएको थियो ।

प्राप्त कागजातअनुसार दुई सांसदका अलावा सुनीता खड्का, कपिता श्रेष्ठ, नवराज गोतामे, हिमाल बस्नेत, नरेश खड्का, विवेक खड्का, सुदर्शन लिम्बू, दिलीपकुमार थापा, सावित्री थापा कुँवर, तारापति पौडेल, पाना थापा क्षत्री र मीना ओली अमेरिका जान लागिफरेका थिए । ओएस नेपालले सांसदसहितका व्यत्तिले विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधित्व गर्ने भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई झुक्याउन खोजेको देखिएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १३:४९