१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

एकै पटक पाँच स्थानमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश स्थापना


३१ जेठ, काठमाडौँ । सशस्त्र प्रहरी बलले देशका विभिन्न ५ ठाउँमा एकै पटक विपद् व्यवस्थापन वेश स्थापना गरेको छ । केही दिनमै अझै दुई स्थानमा वेश स्थापनाको तयारी गरिरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीले धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा वेशलाई विपद् व्यवस्थापन वेशको रुपमा स्तरोन्नती गरिएको छ । यस्तै म्याग्दी स्थित वेनिमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढी स्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन वेश स्थापनमा गरिएको हो ।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र वेनि, मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको डिएसपी थापाले जानकारी दिए । थापाका अनुसार दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १र२ दिन भित्रै वेश स्थापनाको तयारी गरिएको छ ।

भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र  सुर्खेतको चिप्लेमा यस अघि नै रहेको सुरक्षा वेशलाई स्तरोन्नती गरी विपद् व्यवस्थापन वेश स्थापना गर्ने तयारी गरिएको हो । स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रकृयामा रहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले केही साता अघि तत्काल मनसुन जन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनिकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन विपद् व्यवस्थापन वेश स्थापनाको निर्णय लिएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १४:१३