६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

भारतीय सीमामा नेपाली मुद्राको अबैध ओसारपसार, सशस्त्र प्रहरीले समात्यो १५ लाख


३१ जेठ, काठमाडौँ । भारतीय सीमामा नेपाली मुद्राको अबैध ओसारपसार हुनु नौलो त होइन तर सशस्त्र प्रहरीको सक्रियतासँगै त्यस्तो अबैध ओसारपसार भने कम हुँदै गएको छ । मंगलबारमात्र सशस्त्र प्रहरीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

विओपी बरैनिया बाराले स्रोत नखुलेको १५ लाख रूपैयाँसहित भारतस्थित पूर्वी चम्पारणका  रामनिवास प्रसाद यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरीको सहायक प्रवक्ता रहेका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाले बीआर ०५ वाई २६२४ नम्बरको  मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका यादवको साथबाट स्रोत नखुलेको १५ लाख रूपैयाँ बरादम गरेको बताए ।

सशस्त्र प्रहरीले मंगलबार नै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाएको छ । पछिल्लो महिनामा भारतबाट मोटरसाइकलमा नेपाली मुद्राको ओसारपसार हुने गरेको पाइएको छ । यसअघि पनि सशस्त्र प्रहरीले पटक पटक यसैगरी अबैध रूपमा ल्याउँदै गरेको नेपाली रूपैयाँ बरामद गर्दै आएको छ ।

देशभित्र पैसा कहाँ हरायो भनेर चर्चा चलिरहेको समयमा लाखौँ रूपैयाँ भारतीय खेताला लगाएर उतैबाट नेपाल ओसार्न थालिएपछि कालोधनहरू भारतमा लगेर लुकाएर राखिएको अशंका गरिएको छ । यद्यपी प्रहरीले अनुसन्धान गर्नेक्रममा त्यसको कनेक्सनहरू नखोज्ने हुँदा नेपाली पैसा लुकाएर राख्नेहरूको जालो तोड्न सकेको छैन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार ११:३९