जलहरी प्रकरणः आँशुबाट साहानुभुति खोजेका मिलन थापाले किन उठाए सेना माथि प्रश्न ?
३० जेठ, काठमाडौँ। पशुपतिको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले नेपाली सेना माथि पनि प्रश्न उठाएका छन । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पुगेका सदस्यसचिव थापाले यस्तो प्रश्न उठाएका हुन । आँशुबाट साहानुभुति खोजेका थापाले नेपाली सेनाका बारेमा पनि गम्भीर प्रश्न उठाएका छन ।
रूँदै सुनको जलहरीमा आफुले घोटाला गरेको भए मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताउँने थापाले अाँशु पुछ्दै नेपाली सेना माथि पनि प्रश्न गरेका हुन । अाफ्नो रक्षाका लागि पर्याप्त तर्क दिन नसकेपछि सदस्यसचिव थापाले पशुपतिको सुन हराएको वा कम भएको विषयमा नेपाली सेनाले पनि दोष भोग्नुपर्ने बताए । उनले नेपाली सेनाको निगरानीमा जलहरी निर्माण गरिएकोले सुन कम भए सेनाले पनि दोष भोग्नु पर्ने बताएका हुन ।
सदस्यसचिव थापाले संसदीय समितिको बैठकमा भनेका छन, ‘अर्को कुरा नेपाली सेनाको विश्वास गर्ने कि नगर्ने,सुनको जलहरीमा नेपाली सेनाको २४ घन्टा निगरानी थियो, सेनालाई विश्वास गर्ने कि नगर्ने, यो सुन हराएकोमा सेनाले जिम्मेवारी लिने कि नलिने भनेर प्रधानसेनापतिसँग पनि कुरा गरेको छु ।’
थापाले यस्तो तर्क गरेपछि समितिका सदस्यहरू भने झस्किएका छन । थापाले आफुलाई समाजमा सुन चोर भनेर चिनाइएको गुनासो गर्दै पशुपतिनाथमा आएर धर्म हुनुपर्ने ठाउँमा आफुले पाप भोगिरहेको बताए ।
उनले भने ‘ १० केजी सुन पुगेन भने म मृत्युदण्ड लिन पनि तयार छु, आज मेरो गाँउभरि बेईज्जत भयो मेरो दुई जना सन्तान छन् । अब मैले सुन चोरको रुपमा आएको छु । म कमजोर होईन् तर राज्यले मलाई कमजोर बनाएको छ । आयोगले छानबिन गर्न नसक्ने, पटक पटक मुद्दा चलाउने भनिएको छ । मुद्दा चलाउ पुगेन भने फाँसी दिए पनि हुन्छ तर हाम्रो पत्रकार साथीहरुले सत्य नबोलिकन सुन चोर भनेर समाचार निकाल्नु हुन्छ । मरो बच्चाहरुको भविष्य अन्धकार बनाउने, राज्यको यहि नीति हो ? त्यसो भए त कुनै पनि राजनीतिक दलले नियुक्ति गर्नु भएन पशुपति विकास कोष नै राख्नु भएन ।’
पटक पटक रोएका थापाले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले अब भयो भनेपछि सम्हालिँदै रून छाडेर स्पष्टिकरण दिएका थिए ।
प्रकाशित मिति : June 14, 2023 at 9:49 am









