११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नेपालभूमि साप्ताहिकका संस्थापक सम्पादक रामचन्द्र हुमागार्इंको निधन

५ कात्तिक, काठमाडाैँ । ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा अाइतबार निधन भएको छ । कलेजो रोगबाट पीडित हुमागाईंको अाइतबार दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो ।

उहाँको अाइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हुमागाईंप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष डा जगदीशचन्द्र भण्डारीलगायत आर्यघाट पुग्नुभएको थियो । दिवङ्गत हुमागाईंको एक छोरा र एक छोरी छन् ।

हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौँ जिल्ला संयोजक हुनुहुन्थ्यो । उहाँ ‘वर्गदृष्टि’ साप्ताहिकका स्तम्भकार पनि हुनुहुन्थ्यो । महासङ्घका अध्यक्ष इन्द्र राउतले आज शोक विज्ञप्ति जारी गरी उहाँको निधनबाट सङ्गठनका साथै जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको जनाउनुभएको छ । यसैगरी नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विडारीले पनि दिवङ्गत हुमागाईंप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । रासस

प्रकाशित मिति : October 22, 2018 at 7:42 am