२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भ्रष्टाचारमा चुर्लुम्म डुब्यो नुवाकोटको सूर्यगढी, अनुदानका नाममा सरकारबाटै लुटिए किसान


-प्रतिमा मुडभरी

२८ जेठ, नुवाकोट । सरकारले किसानलाई लुट्यो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर नुवाकोटको सूर्यगढी गाउँपालिकाले त्यस्तै गरेको छ । शक्ति र अधिकारका लागि गाउँको सिंहदरबारको उपमा पाएको गउँपालिकाले सोझा किसानलाई नै लुटेको हो ।

कार्यसम्पादन मूल्यांकनमा समेत निकै कमजोर रहेको सूर्यगढी गाउँपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथ्य र प्रमाणहरू सार्वजनिक भएका छन । नेपाली कांग्रेसका नेता सन्तबहादुर घले तामाङ नेतृत्वको गाउँपालिका कार्यालयले भ्रष्टाचारमा डुब्नेमात्र नभइ किसानहरूलाई अनुदानका नाममा लुटिरहेको तथ्य समेत दैनिकीले प्राप्त गरेको छ ।

गाउँपालिकाले किसानलाई ट्याक्टर (मिनिटिलर) र ट्रनेलको प्लास्टिकमा अनुदान दिने नाममा लुटेको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गर्ने नाममा २१ किसानलाई लुटेको तथ्य सार्वजनिक भएको छ ।

कृषि ज्ञान केन्द्र नुवाकोटले सूर्यगढी गाउँपालिकाले नै खरिद गरेको बिबरणको मिनिटिलर खरिद गरेर बिक्रीका लागि जारी गरेको सार्वजनिक सूचना ।

३७ हजार रूपैयाँमा सर्वसाधरणले बजारमै किन्न पाउने मिनिटिलर सूर्यगढी गाउँपालिकाले ४६ हजार रूपैयाँ कायम गरेर किसानलाई बिक्री गरेर लुटेको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदानका नाममा २३ हजारमा मिनिटिलर बेचेको हो । गाउँपालिकाले जसकाे मूल्य ४६ हजार रूपैयाँ कायम गरेको छ । गाउँपालिकाले वीरगञ्जको कविता एग्रोबाट मिनिटिलर खरिद गरेको हो । यद्यपी गाउँपालिकाले खरिद अघि कुनै सार्वजनिक सूचना आव्हान गरेको आफूहरूलाई समेत जानकारी नभएको कतिपय कर्मचारीले समेत बताएका छन ।

गाउँपालिकाले बजारमै ३७ हजार रूपैयाँ अर्थात जिल्ला सदरमुकाम विदुरमै ३७ हजार रूपैयाँमा किसानले किन्न पाउने मिनिटिलर ४६ हजार रूपैयाँमा किसानलाई बेचेको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरेको भन्दै किसानले भने दंग परेर किनेका छन ।

तस्बिरमा माथिल्लो भागमा गाउँपालिका अध्यक्ष सन्तबहादुर घले र तल प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेल, पृष्ठभूमिमा गाउँपालिकाको कार्यालय ।

नुवाकोटमै अनुदानको मिनिटिलर बितरण गर्ने कृषि ज्ञान केन्द्रले पनि सोही बिबरण र कम्पनीको सामान ३७ हजार रूपैयाँमा उपलब्ध गराइरहेको छ । जुनकुरा कृषि ज्ञान केन्द्रले आफ्नो सूचना मार्फत नै सार्वजनिक रूपमै जानकारी दिएको छ ।

दैनिकीले गाउँपालिका अध्यक्ष घलेसँग यस विषयमा जानकारी माग्दा उनले गल्ती भएको स्वीकार गर्दै हालका लागि कविता एग्रोलाई भुक्तानी रोकेको जानकारी दिए । गाउँपालिकाको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलको मिलेमतोमा किसान लुटिएको विषय तथ्यसहित बाहिर सार्वजनिक हुँदा पनि कारबाहीका सम्बन्धित निकायहरूले खासै चासो दिएका छैनन् ।

गाउँपालिकाले किसानलाई ठगी गरेर लुटेको विषय नेकपा एमालेका नेता समेत रहेका गउँपालिकाका प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र रिजालले सामाजिक सञ्जाल मार्फत तथ्य सार्वजनिक गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता रिजालले सार्वजनिक रूपमै खबरदारी गरेपछि गाउँपालिका अध्यक्षले कविता एग्रोलाई भुक्तानी रोकेको गाउँपालिकाका कर्मचारीहरूले बताएका छन ।

गउँपालिकाका प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र रिजालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तथ्य ।

गाउँपालिका अध्यक्ष घलेले भने आफूले अनियमिततामा संलग्न भएका कर्मचारी र प्रशासकीय अधिकृतलाई कार्यकक्षमै बोलाएर कारबाहीको चेतावनी दिएको समेत दैनिकीसँग बताएका छन ।

यस्तै गाउँपालिकाले ट्रनेल प्रविधिको तरकारी खेतीका लागि आवश्यक पर्ने प्लाष्टिकको खरिदमा समेत व्यापक भ्रष्टाचार गरेको छ । गाउँपालिकाले कोटेशन माग्नेक्रममा सुप्रिमको ट्रिपोलिनको लिएर पावर पोलिनको प्लाष्टिक खरिद गरेको र यसमा पनि किसान लुटेको पाइएको छ ।

गाउँपालिका अध्यक्ष घलेसँग यस विषयमा जानकारी माग्दा आफूले पनि जानकारी पाएर सम्बन्धित शाखाको कर्मचारी र प्रशासकीय अधिकृतलाई सचेत गराएको जानकारी दिए । यद्यपी उनले कस्तो कारबाही गरेको वा कस्तो चेतावनी दिएको हो भन्नेबारेमा केही खुलाउन चाहेनन् ।

गाउँपालिकाले ५ हजार २ सय रूपैयाँ पर्ने सुप्रिमको ट्रिपोलिन प्लाष्टिकको कोटेशन लिएर ३ हजार ५ सय रूपैयाँ मूल्यको पावर पोलिन खरिद गरेको हो । गाउँपालिकाले यसमा पनि किसानलाई ५० प्रतिशत अनुदान दिने नाममा ३ हजार ५ सयमा किनेको प्लाष्टिकको ६ हजार रूपैयाँ मूल्य कायम गरी ३ हजारमा बिक्री गरेर ठगी गरेको छ ।

प्लाष्टिक खरिदमा भएको भ्रष्टाचार स्वीकार गर्दै गाउँपालिकाले जारी गरेको सूचना ।

गाउँपालिकामा देखिनेगरी भ्रष्टाचार भैरहेको र अनुदानका नाममा किसान ठगिरहेका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलसँग प्रतिक्रियाका लागि दैनिकीले पाँच पटक फोनमा सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमै आउन चाहेनन् । गाउँपालिकामा एकपछि अर्को भ्रष्टाचार छर्लङ्गै हुँदा पनि सम्बन्धित निकायले अनुसन्धान र छानविनको काममा कुनै चासो दिएका छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत अहिले पदमै रहेर भ्रष्टाचारको प्रमाण नष्ट गर्ने काममा लागेको एक जनप्रतिनिधले दैनिकीसँग बताए । उनले गाउँपालिकाको नेतृत्वको सहयोगमै पोखरेलले सबै काम गरेको दाबी पनि गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १७:१६