मुर्रा राँगोः संघीय संसदमा रमिता, दूग्ध उत्पादक किसानमा भने उत्साहको सञ्चार
२७ जेठ, कैलाली । भारतले नेपाललाई दिने भनिएको ७ वटा मुर्रा राँगो संघीय संसदमा रमिता र घोचपेचको विषय बनेपनि कृषि कर्ममा लागेका नेपालीका लागि भने यस्ले उत्साहको सञ्चार गराएको छ । मुर्रा राँगोको प्रजनन क्षमता र यसको सहयोगबाट उत्पादन हुने भैंसीको दूध दिने क्षमता असीमित हुने भएकोले पनि दूग्ध उत्पादक किसानहरु खुसी देखिएका छन् ।
नेपालमा भैसीलाई बहुउपयोगी पशुकोरुपमा पाल्ने चलन छ । दूध दिन सक्षम भएसम्म दूध, दही, मोही र घ्यूको रुपमा र दूध दिने क्षमता गुमाएपछि मासुकोरुपमा प्रयोग गर्ने चलन छ । यस्कारण पनि भैसी पाल्ने किसानको संख्या नेपालमा बढ्दो छ । कैलालीको गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको स्वर्णिम एग्रिकल्चर प्रालि भैंसी फार्मकोरुपमा सुदूरपश्चिमका ९ जिल्लाका किसानका लागि मात्र नभइ भारतीय किसानका लागि पनि आकर्षणको केन्द्र बनेको सञ्चालक बालकृष्ण भट्टराई बताउछन् ।
उनले भने ‘ २०६७ सालमा खुलेको फार्ममा अहिले सुदूरपश्चिमका ९ जिल्लाका किसान र भारतीय किसानहरु आउजाँउ हुन्छ, भैंसी पाल्ने खरिद विक्रि गर्नेका लागि फार्म सहयोगी बनेको छ, दूध दिएसम्म पालेर दूध दिन छाडेपछि मासुको प्रयोजनका लागि पनि किसानहरुले आफ्ना भैंसी यहीं ल्याउने गरेका छन् । ’
फार्मका सञ्चालक भट्टराईले कृषि कर्ममा लागेका दूग्ध उत्पादक किसानका लागि मुर्रा राँगोले उत्साहको सञ्चार गराएको बताउछन् । मुर्रा राँगो हरेक भैंसी पालक किसानको पहुँचमा पुगे यस्ले नेपालको पशुपालन क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास पनि भट्टराईको छ ।
उनले भने ‘ कृषिमा आत्मनिर्भर बनाउन यस्ता कदमले ठूलो सहयोग पुग्छ । भारत सरकारलाई मनाएर अझ बढी यस्ता राँगो ल्याउन सके अझ राम्रो हुने थियो , मुर्रा राँगो नेपाल आउने भएपछि किसान सबै खुसी छन्, यस्ले दूध उत्पादनमा ठूलो क्रान्ति ल्याउने र मासुको आवश्यकतालाई पनि सहयोग गर्नेछ । ’ सञ्चालक भट्टराईले नेपाली किसानहरु कृषि कर्ममा नै भविष्य खोजिरहेको बताउछन् । सरकारको धेर थोर सहयोग भए यही क्षेत्रमा धेरै गर्न सक्ने अवस्था रहको पनि उनले बताए ।
प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १२:२८