२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

छुटाउनुभयो कि ? १० हजार कित्तासम्म भर्न पाइने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२२ जेठ, काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ २२ गते साेमबार अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे  आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा हिजो साँझ ५ बजेसम्म ८ लाख ६९ हजार ६४५ आवेदकबाट ९५ लाख ८६ हजार ४०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १४.८९ गुणाले बढी हो।

प्रकाशित मिति : 10:36