६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः आज बालकृष्ण खाणसहित तीनको बयान लिइदै


१९ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तीन जनाको आज अदालतमा बयान हुँदैछ । नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र  बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको वयान लिइदैछ ।

यसअघि पक्राउ परेका १५ जनाको बयान सकिएको छ । पक्रउ परेका दुई जना र अदालतमा आएर आत्मसमर्पण गरेका एकसहित तीन जनाको बयान सकिएपछि १८ जनाको बयान सकिन्छ । सरकारले प्रतिवादी बनाएका १२ जना अझै फरार रहेका छन ।

यसअघि हिजो बिहीबार नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री समेत रहेका एमालेका सचिव टोपबहादुर रायमाझीसहित तीन जनाको बयान भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान लिइएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । फरार रहेका १२ जनाको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार ०७:५६