राष्ट्र बैंकले घटाएको लाभांश तत्काल लागू नगर्न नेष्डो समृद्ध लघुवित्तलाई सर्वोच्चको आदेश
१० जेठ, काठमाडाैं । नेष्डो समृद्ध लघुवित्तले आफ्नो लाभांश घटाउने राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्टि जनाउँदै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अर्को आदेश नभएसम्म वैशाख ४ गते राष्ट्र बैंकले दिएको लाभांश कार्यान्वयन नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७८/७९का लागि चुक्तापुँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३.६८४२ गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले फागुन १० गतेको परिपत्रअनुसार लाभांश बाँड्न भन्दै नेष्डो समृद्धको लाभांशमा संशोधन गरेर कुल १७.९३ प्रतिशतमात्र बाँड्ने निर्देशन दिएसँगै लघुवित्त अदालत पुगेको थियो।
प्रकाशित मिति : May 24, 2023 at 9:29 am









