१० असार २०८३, बुधबार | Wed Jun 24 2026

किन्ने हाेइन त ? सर्वसाधारणले १० हजार कित्तासम्म खरिद गर्न पाउने आईपीओ बिक्री खुला हुँदै

८ जेठ, काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

सोमध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्काशन गर्ने सेयरमा सो सेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्काशनमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २२ गते हुनेछ र ढिलोमा जेठ ३२ गते बैंकिङ समयपछि हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : May 22, 2023 at 11:43 am