७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

ओटीपी भनेको के हो ? याे अरुलाई किन दिन हुँदैन ?

२ जेठ, काठमाडाैं । विद्युतीय भुक्तानीको कारोबार गर्दा सजग हुन सबैमा नेपाल राष्ट्र बैंकले अनुराेध गरेकाे छ । राष्ट्र  बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै कसैलाई पनि ओटीपी नदिन आग्रह गरेको हाे ।

ओटीपी भन्नाले एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम पासवर्ड भन्ने बुझिन्छ । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो ।

राष्ट्र बैंकले  वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै भनेको छ, ‘निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्ने गरी प्रयोगकर्ताले दर्ता गरेको फोन / वा इमेलमा मात्र प्राप्त हुने भएकाले अन्य कसैलाई पनि ओटीपी दिनुहुँदैन ।’

विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन् । त्यसैले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, ‘कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन् ।  त्यस्तै तपाइँले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाइँंको ओटीपी कुनै पनि कार्यका लागि आवश्यक पर्दैन ।’

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १४:२६