१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३२.९६ प्रतिशतले घट्याे राष्ट्र उत्थान लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

१ जेठ, काठमाडाैं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९६ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल १.१९ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ३३ लाख ४४ हजार रुपैयाँले ऋणात्मक थियो।

यो अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ३२.९६ प्रतिशतले घटेर ५ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्षकाे यही अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ७ करोड ९३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २.७८ प्रतिशतले घटेर १५ करोड ९५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो।

२५ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ८४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ३ अर्ब १८ करोड ६३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

कम्पनीकाे वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ३९ पैसा घटेर १९ रुपैयाँ १० पैसा कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस २८.४९ रुपैयाँ थियो। याे अवधिमा कम्पनीकाे मूल्य आम्दानी अनुपात ३४.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १४ पैसा रहेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १०:४४