१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले दिन पाउछन् आवेदन ?

१ जेठ, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरले आज जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेको हो।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ्ग गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ।

उक्त आईपीओमा स्थानीयले  न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

साे आईपीओमा आयोजन प्रभावित क्षेत्रका स्थानीयले जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा जेठ ३० गतेसम्म म्याद लम्बिनेछ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ १६ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:32