२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

तीन दिनभित्र विषयगत समितिको बैठक सुरू गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति

३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति भएको छ ।

आइतबार बसेको बैठकमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको हो । साथै, बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ ।

आज बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा माननीयहरुले बजेट निर्माण गर्दा मन्त्रीहरुले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए । सांसदहरुको गुनासो सुनेपछि सभामुख देवराज घिमिरले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

सभामुख घिमिरले भने, ‘माननीयहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ । मन्त्रीहरुको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ । बजेट निर्माण गर्दा माननीयहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १६:४४