३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

मोबाइल सेटलाई व्यस्थित गर्न भोलिदेखि एमडीएमएस प्रणाली लागू हुने

३१ वैशाख, काठमाडौं । जेठ १ गते अर्थात भोलि सोमबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै यस विषयमा जानकारी गराएको हो । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले २९ वैशाखमा प्रकाशित गरेको “यात्रुहरूले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धि“ सूचना अनुसार मोबाइल सेटहरू दर्ता हुने गरी नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न १ गते अर्थात सोमबारदेखि एमडीएमएस प्रणाली लागू हुने भएको हो ।

साथै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ । नेपाल सरकारको निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति आफैँले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सक्नेछन् । यसको लागि प्रणालीमा डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पनि राख्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १४:४३