१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

फरवार्ड माइक्रोफाइनान्सको नाफा ९३.५५ प्रतिशतले घट्यो, ईपीएसमा १०१ रुपैयाँकाे गिरावट

२८ वैशाख, काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

तेस्रो त्रैमाससम्म संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.५५ प्रतिशतले कम हो। गत वर्षकाे यही अवधिमा संस्थाले ६७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीकाे एनपीएल बढेर ५.८८ प्रतिशत पुगेको छ। गत वर्षकाे यही अवधिमा कम्पनीकाे एनपीएल १.८६ प्रतिशत थियो।

खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत वर्षकाे यही अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज ६ करोड ५३ लाख रुपैयाँले ऋणात्मक थियो। लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६७ प्रतिशत र सञ्चालन मुनाफा ९३.५० प्रतिशत घटेर ६ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९६ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

चुक्तापूँजी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३२.०३ प्रतिशतले घटेर ७३ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०१ रुपैयाँ ३० पैसा घटेर ५.५१ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस १०६.८१ रुपैयाँ थियो। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३३.२१ गुणा रहेको छ।

प्रकाशित मिति : May 11, 2023 at 10:43 am