५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

९ महिनामा २४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, ९ खर्ब भित्रियो

२७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ ।  चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार चैतसम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेको छ । यो अवधिमा ३ लाख ८७ हजार ८३९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५.५ प्रतिशतले बढेको छ । चैतसम्म २ लाख १७ हजार ९५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । ९ महिनाको अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १३:३६