अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले हरेक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने
२६ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै एक त्रैमासमा (तीन महिनामा) एक पटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था हटाएको छ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा हरेक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी निर्देशन जारी गरेको हो ।
अब कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ।
तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने केन्द्रिय बैंकले जनाएको छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले अब मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १०:१२












