सामुहिक बलात्कार मुद्दामा कांग्रेस नुवाकोटका नेता पाण्डेसहित चार जनाले पाए सफाइ
२५ वैशाख, काठमाडौँ । जिल्ला अदालत कास्कीले सामूहिक बलात्कारको एउटा मुद्दामा अभियोगको दाबी नपुग्ने भन्दै अभियुक्तहरूलाई सफाइ दिएको छ । नेपाली कांग्रेस नुवाकोटका नेता मधुसुदन पाण्डेसहित चार जनाले सफाइ पाएका हुन ।
सफाइ पाउनेमा काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबका सञ्चालक समेत रहेका टोखा नगरपालिका वडा नम्बर ८ का राजु राउत, सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ घर भएका नयन डाँगी र काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ घर भएका दिनेशकुमार थापाको विरूद्धमा काठमाडौँ मालीगाउँ प्रहरी वृत्तमा सामूहिक बलात्कारको अभियोगमा उजुरी परेको थियो । प्रहरीले आरोपित मध्येका नुवाकोट कांग्रेसका नेता पाण्डेलाई लोटस क्लबबाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाएको थियो ।
अन्य अभियुक्त फरार नै रहेको अवस्थामा पाण्डेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश डण्डपाणी शर्माको एकल इजलाशले गत साउन १९ गते पूर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेको थियो । पछि अर्का न्यायाधीश ध्रुवकुमार पियाले मुद्दाको फैसला गर्दै गत चैत ६ गते अभियोगको दाबी नपुगेको भन्दै सफाइ दिएका हुन ।
के थियो अभियोग
सुनसरी स्थायी घर भएकी युवतीलाई चितवन बोलाएर त्यहाँबाट पोखरा पुर्याई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । असार २२ गते राति पोखराको लेकसाइड होटल सहारामा बसेका उनीहरूले त्यही युवतीमाथि बलात्कार गरेकाे समेत जाहेरीमा उल्लेख गरिएकाे छ । युवतीले काठमाडौँ फर्किएपछि मालीगाउँ प्रहरीमा असार २४ गते उजुरी दिएपछि पाण्डे २५ गते नै पक्राउ परेका थिए ।

प्रकाशित मिति : 10:40









