२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

टोखा–छहरे सुरुङ मार्ग कार्यान्वयनको चरणमाः अर्थमन्त्री महत

२४ वैशाख, नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग कार्यान्वयनको चरणमा पुगेको बताएका छन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका नाम्सापुराणस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रममा पुगेका उनले नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको बताए ।

उनले कांग्रेस जहिलेसम्म सरकारमा हुन्छ, त्यसबेलासम्म जनताको पीरमर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताए । उनले राजस्वबाट प्राप्त हुने आम्दानी देशैभरिको विकास निर्माणको लागि पर्याप्त नभएपनि सम्भव भएसम्मको काम गरेर देखाउने बताए ।

दुप्चेश्वर गाउँपालिकाको समस्या जनताको आवश्यकता, बाह्रै महिना चल्ने बाटो निर्माण, बालबालिकालाई स्कुल जाँदा आउँदा आइपर्ने समस्यालाई ध्यान दिएर सरकारले पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको बताए । उनले बाटोसँगसँगै शिक्षा, स्वास्थ्य, खेलकुद र विकासका आवश्यकता भएको भन्दै यी आवश्यकताहरु बजेटले भ्याएसम्म काम गर्दै जाने दृढता व्यक्त गरे ।

अर्थमन्त्री महतले रोजगारीको आवश्यकता, हरेक घर परिवारको आम्दानी श्रोत सुनिश्चित होस् भन्ने जनताको आकांक्षालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए । उनले सरकारको उद्देश्य जनताको सेवा मात्र भएको उल्लेख गर्दै जनताको आवश्यकता र आकांक्षाका अगाडि व्यक्तिगत आकांक्षा र आवश्यकता गौण रहने पनि बताए ।

उनले पद्म सम्भवले १२ सय वर्ष अगाडि तपस्या गरेर तिब्बतमा बुद्ध धर्म फैलाएका भन्दै उनले सिकाएका पाठलाई अनुशरण गर्दै अगाडि बढ्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार ०९:२०