२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

मानव सेवा आश्रममा भात बाँड्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

२२ वैशाख, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘मानव सेवा आश्रम’प्रति भित्रैदेखि सम्मान र अभिनन्दन गरेका छन ।  शनिबार वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगी सहभोज गर्नुका साथै उनले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिए ।

उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० बर्षदेखि ‘सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त राष्ट्र’ जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी संचालन गर्न सकेकोमा खुसी प्रकट गर्दै श्रेष्ठले आश्रमले २०८२ सम्ममा सडक मानव मुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएकोमा खुशी व्यक्त गरे । हाल देशभरीका २३ आश्रममा १६ सयभन्दा बढी आश्रीतहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका थिए।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रीतहरूलाई खोजीखोजी आश्रय दिने गर्दछ। आश्रमको सेवापछि हालसम्म २२ सयभन्दा बढी आश्रीतहरू आफ्नै घर-परिवारमा फिर्ता भएका छन्। आश्रममा सयभन्दा बढी स्वयंसेवी छन्। आश्रमका अध्यक्ष गोरखाका रामजी अधिकारी हुन्।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र नेपाल सरकारको सम्पुर्ण साथ रहने प्रतिबद्धता समेत उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरे । आश्रमलाई सहयोग गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफुले आज वा भोलि नै कार्यसूची नै बनाएर छलफल गर्ने र प्रधानमन्त्री स्वयंले पनि राष्ट्रिय संवेदनाका यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिए । उनले त्यहाँ रहेका नगारिकहरूलाई खाना बितरण गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १३:११