मर्जरपछि युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय
२२ वैशाख, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर वैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण र अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् ।
गुराँस लाइफका सीइओ विपिन कर्ण र प्राइमका सीइओ निर्मल दाहाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि कम्पनीकाे चुक्तापुँजी साढे ७ अर्ब बढी हुनेछ । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ ।
एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुने छन् ।
प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ११:४८