मानवतस्करी प्रकरणः राजिनामाको तयारीमा अख्तियार प्रमुख प्रेम राई
२० वैशाख, काठमाडौँ । भुटानी शरणार्थी बनाएर नेपाली नागरिकको अमेरिकामा मानवतस्करी गर्न खोजिएको प्रकरणमा जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले राजिनामा दिने तयारी गरेका छन । उनले आफ्नो नाम जोडिएपछि राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेरै परामर्श गरेका छन ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान डकुमेन्ट बनाएको गिरोहका नाइके भनिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईसहितका अन्य पाँच अभियुक्तले बयानका क्रममा प्रेम राईको संलग्नता बारेमा नाम लिएपछि राईले बुधबारमात्रै राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गरेर राजिनामाको बारेमा परामर्श गरेका हुन ।
सात दलीय सत्ता गठबन्धनले जसरी पनि हटाउन चाहेका राई प्रकरणमा जोडिएपछि थप समस्यामा परेका छन । उनी कर्मचारी प्रशासनमा रहँदा स्वच्छ छवीका व्यक्ति भनेर परिचित रहेका थिए तर नेपालीलाई भुटानी बनाएर अमेरिका तस्करी गर्ने प्रयास गरेको गिरोहले उनको पनि नाम लिएपछि धेरै मान्छे आश्चर्यमा परेका छन ।
सोही प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीको नाममा पनि पक्राउ पुर्जी जारी भैसकेको छ । यस्तै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेर तीन दिन थुनामा राख्न आदेश लिएको छ । मानवतस्करीको सेटिङ मिलाएको गिरोहले एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएको र करिब डेढ अर्ब ठगेको प्रहरी स्रोतले जनाएको छ ।
प्रकाशित मिति : May 3, 2023 at 6:32 pm









