२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

मिटरब्याजीपीडितको समस्या समाधानका लागि राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो । सरकारले अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको हो ।

गत चैत १७ गते मिटरब्याज पिडितसंग भएको सहमति अनुसार सरकारले अध्यादेश मार्फत कानून संसोधन गर्न लागेको हो । संसद चलिरहेको समयमा विधेयकमार्फत कानुन संशोधन नगरी सरकारले संसद अधिवेशन अन्त्य भएको समयमा अध्यादेशमार्फत ऐन संशोधन गरेको हो । यसैबीच मन्त्रिपरिषद्को बुधबारको बैठकले यही वैशाख २४ गते संसदको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:१४