२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नियुक्ति पत्र र सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

१८ वैशाख, काठमाडाैं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।

सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार सङ्घका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले विगत २० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई अहिलेसम्म नियुक्तिपत्रसमेत नदिएको गुनासो गरे।

“जडीबुटी प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई नियुक्तिपत्रको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, कामदारलाई चाडपर्व खर्च दिनुपर्ने, बिरामी बिदा दिनुपर्नेलगायत हाम्रो माग रहेको छ”, उनले भने । देशको आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा राज्यकोषबाट करोडौँ रकम निकासा गरी कम्पनीले विभिन्न ठाउँमा भवन निर्माण गरे पनि उक्त भवन अहिलेसम्म प्रयोगमा नआएको सचिव क्षेत्रीले बताए ।

सरकारको लगानीमा विसं २०३८ मा स्थापना भएको उक्त कम्पनीले कोरोनाको समयमा समेत श्रमिकलाई आधा तलब दिएको थियो । केही वर्ष अगाडिदेखि नै व्यवस्थापक र श्रमिकबीच श्रम ऐन, २०७४ बमोजिम श्रमिकका सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि उक्त आश्वासन पूरा नभएको सचिव क्षेत्रीले बताए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सुनिता यादवले कर्मचारीले राखेका जायज माग पुरा गर्न व्यवस्थापन पक्ष लागिरहेको बताए । “यहाँ कार्यरत कर्मचारीले लामो समयदेखि उठाउँदै आएको मुद्दा समाधानका लागि व्यवस्थापनको तर्फबाट मैले पहल लिँदै आएको छु, कर्मचारीको समस्या चाँडो समाधान हुन्छ”, उनले भने ।

प्रकाशित मिति : May 1, 2023 at 1:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/