३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

३० लाखसम्म १ प्रतिशत व्याजमा ऋण पाउने सहमतिपछि नुवाकोटका किसानले तोडे अनसन


१७ वैशाख, काठमाडाैँ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का किसान श्रीराम घिमिरेले ३० लाखसम्मको ऋण १ प्रतिशत व्याजमा पाउने सहमतिपछि अनसन तोडेका छन । किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका ३३ बर्षीय घिमिरेले १३ औं दिनमा आमरण अनसन तोडेका हुन ।

आईतबार कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भूषालको हातबाट जुस खाएर अनसन तोडे । वैशाख ५ गतेदेखि किसानका समस्या समाधान गर्न माग गर्दै आमरण अनसन बसेका युवा किसान श्रीराम घिमिरे र नेपाल सरकार कृषि तथा पुशपंछी विकास मन्त्रालयका सचिव डा.दीपकमार खरालको उपस्थितिमा मन्त्रालयका कृषि विभाग, पशु सेवा विभागका प्रतिनिधि र अनसनरत किसान श्रीराम घिमिरेसहितको ५ सदस्यीय प्रतिनिधिहरु बीच भएको पाँच बुद्दे सहमति  भएको छ ।

सहमतिमा किसानको वर्गीकरण गरी किसान परिचय पत्र किसान कार्ड द्रुतगतिमा उपलब्ध गराउने, कुल बजेटमा १० प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनका लागि कृषि विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गर्ने, किसान परिचयपत्रका आधारमा गरिब तथा साना किसानलाई मलखादमा २९ प्रतिशतसम्म र बजारमा बढीमा ५० प्रतिशतसम्म अनुदानलाई निरन्तरता दिने, किसान परिपत्रका आधारमा यातायात भाडामा ५० प्रतिशत छुट गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने  र ३० लाख सम्मको परियोजना ऋणमा एक प्रतिशत व्याजदरमा उपलब्ध गराउन राष्ट्र बैंकलाई सिफारिस गर्ने उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार २१:१५