२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

बालुवाटारमा प्रचण्ड र रवि लामिछानेबीच के-के भयो कुराकानी ?

१७ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले राससलाई जानकारी दिए । उनका अनुसार रास्वपाको सरकारप्रतिको धारणा बुझ्नका लागि प्रधानमन्त्री दाहालले रास्वपा नेतृत्वसँग छलफल गरेका छन् ।

“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो”, उपसभापति अर्यालले भने ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकामा सभापति लामिछानेलाई बधाई दिएका थिए । रास्वपाको केन्द्रीय समितिको बैठक भोलि सोमबार बिहान ११ बजे बस्दैछ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १२:५२