११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

ईङवा हाइड्रोपावरको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

१५ वैशाख, काठमाडाैं । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा अहिलेसम्म मागभन्दा साढे ६ गुणा बढी आवेदन परेकाे हाे । सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा आज बिहान १० बजेसम्म ७ लाख ४८ हजार १९९ आवेदकबाट कुल ८३ लाख २१ हजार ८८० कित्ता सेयरका लागि  आवेदन परेकाे छ। याे मागभन्दा ६.५६ गुणाले बढी हो।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँड नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस मध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि छिटोमा वैशाख १७ गतेसम्म र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : April 28, 2023 at 10:34 am