७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन अर्थमन्त्रीकाे निर्देशन


१४ वैशाख, विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । तर नियम कानूनले दिएको अधिकार भित्र रहेर कुनै पनि कार्यको कार्यान्वयन गर्न नचुक्न पनि उनको निर्देशन छ ।

विहीबार विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. महतले समग्रमा सबैले पारदर्शीका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए । उनले सेवाग्राहीका लागि सहज र सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न निर्देंशन दिदै नियम, कानूनमा करदाताहरुले तिर्नुपर्ने कुरा छ भने उनीहरुलाई तिराउन कर्मचारी सजग हुनुपर्ने बताए । उनले कर्मचारीेले गर्नुपर्ने काममा भने सम्झौता गर्न नहुनेतर्फ पनि सजग गराए ।

मन्त्री महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीलाई आफ्नो जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न पनि उनले निर्देशन दिए । उनले कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा आफुलाई विश्वास रहेको उल्लेख गर्दै यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने अपेक्षा आफुले राखेको पनि बताए ।

उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोशिस गरिराख्नु भएको छ ।’

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:३२