७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सपोर्ट लघुवित्तको नाफा ४२.८८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

१२ वैशाख, काठमाडाैं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्त कम्पनीले प्रकाशित गरेको उक्त विवरण अनुसार कम्पनीकाे अधिकांश सूचकमा गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४२.८८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। याे अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तकाे सञ्चालन मुनाफा ६० लाख ६५ हजार रुपैयाँ रहेकाे छ। गत वर्षकाे यही अवधिमा संस्थाकाे सञ्चालन मुनाफा १ करोड ७५ लाख रुपैयाँ रहेकाे थियो। गत वर्ष तुलनामा याे अवधिमा कम्पनीकाे सञ्चालन मुना ६५.६९ प्रतिशलते घटेको हाे।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १६.६६ प्रतिशतले घटेर ४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षकाे साेही अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी ५ करोड ४२ लाख रुपैयाँ रहेकाे थियो।

याे अवधिमा कम्पनीकाे चुक्तापुँजी ९ करोड ५२ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ११.४४ प्रतिशतले घटेर ३ करोड ६५ लाख रुपैयाँमा सिमित रहेकाे छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.८६ रुपैयाँ, पीई रेसियो १०४.०१ गुणा र प्रतिसेयर नेटवर्थ १३८.४० रुपैयाँ रहेको छ।

प्रकाशित मिति : April 25, 2023 at 10:01 am