१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

त्रिशुली अस्पतालमा कांग्रेसको गिद्दे नजरः गुट नमिल्दा हाजिर रोकेर मेसुको सरूवा नै बदर


११ वैशाख, नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा नेपाली कांग्रेसको गिद्दे नजर परेको छ । विगतमा नेपाली कांग्रेसकै नेतृत्वले ध्वस्त बनाएको अस्पतालको संरचना विगत पाँच वर्षमा धेरै लयमा आएको थियो भने तीन वर्षदेखि लगातार उत्कृष्ट सरकारी अस्पतालको सूचीमा रहँदै आएको थियो । यसअघि पनि कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री हुँदा कांग्रेसले अस्पतालमा हात हाल्ने प्रयास गरेको थियो तर सर्वत्र बिरोध भएपछि केही समयका लागि रोकिएको थियो ।

अहिले स्वस्थ्य मन्त्रालय नेतृत्वबिहीन रहेकै अवस्थामा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको निर्देशनमा अस्पताल उत्कृष्ट बनाउँदै काम गरिरहेका दशैँ तहका अधिकृत सुपरिटेन्डेन्ट (मेसू) डा दिपेन्द्र पाण्डेलाई हटाइएको थियो । पाण्डेलाई हटाए पछि उनको स्थानमा हेटौँडा अस्पतालमा दरबन्दी भएर मन्थली जिल्ला अस्पतालमा कार्यरत रहेका अधिकृत आठौँ डा गगन अधिकारीको सरूवा गरिएको थियो तर अधिकारी कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी निकटका भएका कारण उनलाई हाजिर गर्न रोकिएको थियो ।

डा अधिकारीको सरूवा रद्द र डा सिंहको जिम्मेवारीका लागि बागमती प्रदेशको स्वास्थ मन्त्रालयले तयार गरेको निर्णयको पत्र ।

अधिकारीलाई हाजिर नगराइ सरूवा रद्द गर्ने निर्णय भएको छ । पाण्डेको सरूवा भैसकेको र अधिकारीले पनि हाजिर गर्न नपाएपछि रिक्त रहेको मेसुमा अस्पतालमै कार्यरत रहेका आठौँ तहका डा प्रतिक सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिनेगरी निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नै उक्त पत्र पठाइसकेको छ । अधिकारीको भने मन्थली अस्पतालमै निमत्त मेसुको जिम्मेवारी कायम हुने भएको छ । उनी सुरूवा भएर नुवाकोट जानु अघि पनि मन्थली अस्पतालको निमित्त मेसु रहेका थिए ।

यो पनि पढ्नुहोस्

त्रिशूली अस्पतालकाे मेसू: कांग्रेसको फरक गुटका डाक्टरले हाजिर गर्न पाएनन्

अस्पतालका अध्यक्ष राजु पण्डितले जनप्रतिनिधिको समन्वय बिना नै डा अधिकारी सरुवा भएर आएको भन्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको आदेशमा हाजिर गर्न रोक लगाएका थिए । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह कसीले आफू निकटका चिकित्सक निमित्त मेसूको रूपमा सरूवा गरेर पठाएका कारण अस्पताल व्यवस्थापनले हाजिर गर्न रोकेके अस्पताल स्रोतले जनाएको छ ।

नुवाकोटमा विगतदेखि नै केसी र अर्को समूहका नाममा कांग्रेस निकटकाहरू विभाजित हुँदै आएका छन । राम्रो काम र उत्कृष्ट सेवा दिएकोमा केही वर्षयता सम्मानित हुँदै आएको अस्पताल कांग्रेसको गुटको लडाइँले उधोगतिमा लाग्ने हो कि भन्ने चिन्ता प्रकट भएको छ ।यसअघि अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा कुशल ढंगले समन्वय गर्दै आएका अर्जुन न्यौपानेलाई पनि कांग्रेसले नै हटाएको थियो ।

डा अधिकारीको सरूवाको पत्र ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०९:२६