मोदी इनर्जीले आईपीओको आह्वानपत्र सच्चायो, अब सर्वसाधारणलाई जारी हुने सेयर संख्या कति ?
११ वैशाख, काठमाडाैं । मोदी इनर्जीले आईपीओ बिक्रीका लागि जारी गरेको आह्वानपत्र सच्याएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि जारी गर्न लागेकाे आईपीओको आह्वानपत्र सच्याएको हाे । सर्वसाधारणलाई निष्काशन गरिने सेयर संख्या ५५ लाख ५९ हजार ४२० कित्ता हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको कम्पनीले जानकारी गराएको छ । यसअघि प्रकाशित आह्वानपत्रमा भने सर्वसाधारणका लागि ५९ लाख ९४ हजार ४२० कित्ता सेयर निष्काशन गरिने उल्लेख थियो ।
नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियो। कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेकाे छ ।
कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ। लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ २ गतेसम्ममा आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिन्छ। यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ ।
प्रकाशित मिति : 12:29









