७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

निजी क्षेत्रलाई अख्तियारको मातहतमा राख्ने व्यवस्था हटाउन महासंघको आग्रह


१० वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई अख्तियार मातहत राख्ने व्यवस्था हटाउनका लागि आग्रह गरेको छ । महासंघको टोलीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निजी क्षेत्रलाई अख्तियारको मातहतमा राख्ने व्यवस्था हटाउन आग्रह गरेको हो ।

महासंघको टोलीसँगको भेटका क्रममा पूर्व प्रधानमन्त्री ओलीले निजी क्षेत्र हेर्ने गरि व्यवस्था भएमा निजी निरुत्साहित हुने बताएका थिए । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्ड ओलीलाई भेट्न पुगेको थियो । भेटका क्रममा पूर्वप्रधानमन्त्री ओलीले उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बेलासम्म पनि आफुलाई जानकारी नभएको भन्दै यसले निजी क्षेत्रलाई थप नियामक थपिने र यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने बताएका थिए ।

राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयकमा निजी क्षेत्रलाई समेत समेटने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन महासंघका अध्यक्ष ढकालले आग्रह गरेका थिए । अथतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण विग्रिने तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् ।

संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन । यसबारे महासंघले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षा एवं कानुन मन्त्री पुर्ण बहादुर खडकाको पनि ध्यानाकर्षण गराइसकेको छ । भेटका क्रममा प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने हुँदा उक्त व्यवस्था हटाउने प्रतिवद्धता जनाइसकेका छन् । यसै बिषयमा विहीबार कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरुले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याएर अर्थतन्त्र थप जोखिममा पार्न नहुने धारणा राखेका थिए ।

यसैगरि पूर्व प्रधानमन्त्री ओलीसंगको भेटमा बैंकिङ प्रणालीमा करिब २ खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुेपर्ने तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए । साथै, बजार अझै चलायमान नभैसकेको अवस्थामा ऋणको पुर्नसंरचना एवं पुर्नतालिकीकरण पनि आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड थियो । ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको छ ।

बैंकहरुको खराब कर्जा अनुपात पनि ४ प्रतिशत हाराहारी पुगिसकेको छ । असार मसान्तमा यो बढने सम्भावना भएको हुँदा कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

भेटमा पूर्व प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या सम्बोधन गरि निर्वाध काम गर्ने वातावरण बनाउन आफू र आफ्नो पार्टी सधै तत्पर रहेको बताएका थिए । वित्तिय क्षेत्रका समस्या समाधान गरी कर्जा प्रवाह बढाउनुपर्ने पक्षमा आफू रहेको ओलीको भनाइ थियो । महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १६:३३