१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आचारसंहिता उल्लंघनमा रास्वपाले क्षमायाचना गरेपछि चितवनका स्थगित केन्द्रमा मतदान सुरु

१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आचारसंहिता उल्लंघन गरेकाे स्वीकार गर्दै क्षमायाचना गरेपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्थगित भएको मतदान पुनः सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा मतदान र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान स्थगित भएको थियो ।

नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने आफ्ना समर्थकहरुसहित पुगेर नाराबाजी गरेपछि तनाव उत्पन्न हुँदा मतदान स्थगित भएको थियो । दुई घण्टा बढी समय मतदान रोकिएपछि रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै क्षमायाचना गरेका थियो ।

क्षमायाचना गरेपछि स्थगित मतदान सुरु भएको छ । उता कृष्णपुर माविमा केही बेरसम्म अवरुद्ध भएको मतदान पनि पुनः संचालनमा आएको छ । यी दुई घटनापछि चितवनका मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । चितवनमा अपरान्ह ४ बजेर ४५ मिनेट जाँदासम्म ५० प्रतिशत बढी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १६:००