२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सबै कम्युनिष्ट एक ठाउँ आउनु पर्ने अवस्था आयोः प्रधानमन्त्री प्रचण्ड

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बुझ्दा एक पक्षीय रुपमा बुझ्ने गरेको भन्दै त्यो गल्ती गर्न नहुने बताएका छन् । सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने समय आएको पनि उनको बुझाई छ ।

‘अहिले माधव कुमार नेपाल लगायत हामी थुप्रै नेताहरुसंग जे छलफल भैरहेको छ र छलफलमा हामी भनिराखेका छौं नेकपा तिरनै फर्किनुपर्छ । कम्युनिष्ट पार्टी भित्र नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार र प्रवृतिको अगिंकार गर्यो भने धेरै ठूलो क्षति हुन्छ र प्रतिक्रान्ति हुन्छ ।’ दाहालले भने ।

आइतवार काठमाडौंमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताए ।

‘फेरि पनि हामीले सहि विचारको आधारमा,सहि नीतिका अधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । हामी त्यहि प्रकृयामा छौं ।’ उनले भने । प्रचण्डले एकता, संघर्ष र विभाजन हुँदै कम्युनिष्ट आन्दोलन अगाडि बढेको र नयाँ आधारमा नयाँ एकता हुँदै कम्युनिष्ट आन्दोलन विकसित भएकोले त्यसलाई त्यहि रुपमा बुझ्न जरुरी भएको धारणा राखे ।

उनले कम्युनिष्टहरुको व्यापक रुपमा विस्तार भएकाले कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ ले अहिले आफूहरूले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल गरिरहेको पनि बताए ।

उनले भने, ‘जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियतको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन् । तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौं ।’ राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले बताए ।

उनले थपे, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्यो भने ठूलो क्षति हुन्छ ।’ नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै अहिले पनि कम्युनिष्टहरू एक हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १५:३७