२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमालेलाई सक्रियहरुको जमातको रुपमा रुपान्तरित गर्छाैँः महासचिव पोखरेल

८ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सक्रिय जमातको पार्टीका रुपमा रुपान्तरित गर्ने बताएका छन् । शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुट अनुभव र सिकाई अन्र्तक्रिया कार्यक्रममा पोखरेलले मिसन ग्रासरुट अभियानको क्रममा आएका प्रतिवेदनको संश्लेषणको आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्य योजना निर्धारण गरिने समेत बताए ।

उनले केन्द्रीय कमिटीले मिसन ग्रासरुटको समीक्षा गरिसकेपछि तयार गर्ने कार्ययोजनाको जगमा प्रदेशको प्रतिवेदनमा आधारित भएर प्रदेशको कार्ययोजना बनाउने,जिल्ला प्रतिवेदनको निष्कर्षको आधारमा जिल्लाको कार्ययोजना र पालिका प्रतिवेदनको आधारमा पालिकाको कार्ययोजना बनाएर सोहि अनुसार पार्टीलाई सक्रिय र रुपान्तरित गर्दै लैजाने बताए ।

उनले चार वर्ष पछाडि नेकपा एमालेलाई राष्ट्रको बलियो शक्तिमा स्थापित गर्ने र मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्न सक्ने हिसावले बहुमतको सरकार बनाउन मिसन ग्रासरुटका प्रतिवेदनलाई जग मानेर अगाडि बढ्ने दावी गरे। ‘हाम्रा पार्टीका सदस्यहरु भित्रको सक्रियता निस्क्रियता सबै मापन गर्छौ र सक्रियहरुको जमातको रुपमा पार्टीलाई रुपान्तरित गछौं ।’ पोखरेलले भने ।

उनले जिल्ला तहबाट नै प्रवृतिगत विश्लेषण गरेर पार्टीलाई सुदृढीकरण गर्दै लैजाने बताएका छन् । झपाबाट सुरु गरेको मिसन ग्रासरुट अभियानको दुई महिनापछि शुक्रबार काठमाडौंमा कार्यपत्र प्रस्तुत गरिएको छ । दुई महिना लामो ग्रासरुट अभियानको अनुभव र सिकाइबारे नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष तथा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान (नेत्र) का अध्यक्ष विधान आचार्यले कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै, अभियानको क्रममा एमाले पार्टीका जनप्रतिनिधिले पार्टीको मर्म र घोषणा पत्र अनुसार काम नगरेकोले पार्टी चुनावमा पछाडि परेको यथार्थलाई पहिलो कारणको रुपमा देखाएको छ । जिल्ला स्तरीय संगठनहरुमा देखिएको चर्को अन्तरविरोधका कारण स्थानीय तह र केन्द्रमा भन्दा जिल्लामा पद लोलुपता र लालच बढी रहेकाले त्यसलाई सुधार गर्नुपर्ने भन्दै आलोचनात्मक सुझावको रुपमा कार्यपत्रमा समेटिएको छ ।

पार्टीमा रहेका विभिन्न जनसंगठनहरुमा युवा वर्गको सदस्यता न्यून रहेकोले त्यसलाई जनसंगठनहरुको सिफारिसमा पार्टीको सदस्यता दिने प्रणालीलाई नियमन गर्दै निरन्तरता दिनुपर्नेमा परिषदले जोड दिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १९:५९