७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरितः सांसद सुब्बा


६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाकी सांसद सरस्वती सुब्बाले मन्त्रिपरिषद्को जग्गाको कित्ताकाट खोल्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । मंगलबार प्रनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुब्बाले जग्गाको कित्ताकाट खोल्ने निर्णय देश र वर्तमान परिवेशको विपरित भएको दावी गरिन् ।

‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषिभूमि समाप्त पार्ने बाटो खोल्छ। प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ। जमिनमा दलालीकरण बढाउँछ। त्यसैले कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले नेपाल खाद्य संकट र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको समेत स्मरण गराइन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए। अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ। नेपालमा खाद्य आयतको अवस्था डरलाग्दो भएको उनको भनाई छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १४:४८